काठमाडौं — घरजग्गा कारोबारमा देखिँदै आएको मूल्यको अपारदर्शिता अन्त्य गर्न नेपाल राष्ट्र बैंक ले ‘हाउस प्राइस इन्डेक्स’ ल्याउने तयारी गरेको छ।
नेपालमा घरजग्गा किनबेचमा सरकारी अभिलेखमा देखाइने ‘थैली मूल्य’ र वास्तविक बजार मूल्यबीच ठूलो अन्तर रहँदै आएको छ। यसले कर छली, बैंकिङ जोखिम र बजारको यथार्थ मूल्यांकनमा समस्या सिर्जना गर्दै आएको छ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा घोषित थैली रकम ५८.६६ अर्ब रुपैयाँ थियो। यो रकम २०८१/८२ को चौथो त्रैमाससम्म आइपुग्दा १२७.६१ अर्ब रुपैयाँ पुगेको छ। यद्यपि, यो रकम वास्तविक कारोबारको प्रतिनिधित्व नगर्ने बताइन्छ।
प्रस्तावित ‘हाउस प्राइस इन्डेक्स’ले घरजग्गाको मूल्य परिवर्तनलाई वैज्ञानिक आधारमा मापन गर्नेछ। सेयर बजारको सूचकांकझैं यसले विभिन्न क्षेत्रमा घरजग्गाको मूल्य बढेको वा घटेको जानकारी दिनेछ।
राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेल का अनुसार इन्डेक्सको मुख्य उद्देश्य बजारमा पारदर्शिता ल्याउने, मूल्य प्रवृत्ति बुझ्न सहज बनाउने र बैंकलाई धितो मूल्यांकनमा आधार प्रदान गर्नु हो।
हाल बैंकहरूले ऋण प्रवाह गर्दा घरजग्गाको कुन मूल्यलाई आधार मान्ने भन्ने अन्योल छ। यही कारण जोखिम व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। पछिल्लो पाँच वर्षमा घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ।
इन्डेक्स लागू भएपछि दलालमार्फत हुने मनपरी मूल्य निर्धारणमा कमी आउने अपेक्षा गरिएको छ। खरिदकर्ताले आधिकारिक सूचकांकका आधारमा मूल्य तुलना गर्न सक्नेछन्।
राष्ट्र बैंकले इन्डेक्स निर्माणका लागि प्रारम्भिक अध्ययन सम्पन्न गरिसकेको छ भने दोस्रो चरणअन्तर्गत वैज्ञानिक सूचकांक तयार गर्ने काम भइरहेको जनाएको छ। चालु आर्थिक वर्षभित्रै कार्यान्वयन हुने सम्भावना न्यून भए पनि निकट भविष्यमा लागू गर्ने लक्ष्य रहेको राष्ट्र बैंकले जनाएको छ।






