एक करोड बढीका अवैध चिनियाँ सामग्री बरामद

सिन्धुपाल्चोक ।  जिल्लाको बलेफी गाउँपालिका–८ स्थित जाँच चौकीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएको चिनियाँ किराना सामानसहित एउटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

बाह्रबिसेबाट खाडिचौरतर्फ जाँदै गरेको ना ३ ख ५१४० नम्बरको डब्बा भ्यान जाँच गर्ने क्रममा उक्त सामान फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सियाराम चौधरीको नेतृत्वमा खटिएको टोलीले जाँच गर्दा सामानसँग सम्बन्धित बिल बिजक र भन्सार प्रज्ञापनपत्र नभेटिएपछि नियन्त्रणमा लिएको हो।

बरामद गरिएको चिनियाँ किराना सामानको अनुमानित मूल्य ८६ लाख ३१ हजार ८ सय रुपैयाँ रहेको छ। साथै, सवारीसाधनको मूल्य करिब १५ लाख रुपैयाँ आँकलन गरिएको छ।

यससँगै कुल बरामद मूल्य एक करोड एक लाख ३१ हजार ८ सय रुपैयाँ पुगेको छ।

नियन्त्रणमा लिइएको सामान र सवारीसाधन आवश्यक अनुसन्धान तथा कारबाहीका लागि तातोपानी भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा नाकाबाट हुने अवैध आयात नियन्त्रण चुनौतीपूर्ण रहे पनि यस्ता कारबाहीले राजस्व चुहावट रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *