कालीगण्डकी जलविद्युत आयोजनाको क्षमता घटाएर ६४० मेगावाटमा झारियो

काठमाडौं — कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने भएको छ।

सुरुमा ८४४ मेगावाट क्षमताको रूपमा प्रस्ताव गरिएको आयोजना अध्ययनका क्रममा घटाएर ६४० मेगावाटमा कायम गर्न उपयुक्त देखिएको हो। हाल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयारी भइरहेको छ।

प्रस्तावित आयोजनाको बाँध सेती र कालीगण्डकी नदीको दोभानभन्दा करिब १० किलोमिटर माथि उर्लेनी–खङकोट क्षेत्रमा निर्माण गरिनेछ, जुन गुल्मीको कालीगण्डकी गाउँपालिका–६ र पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौर क्षेत्रमा पर्छ। बाँधको उचाइ करिब २४४ मिटर रहनेछ।

बाँध निर्माणपछि करिब २९ किलोमिटर लामो जलाशय खनियाघाटसम्म फैलिनेछ। आयोजनाको नेट हेड १८३.४ मिटर, डिस्चार्ज क्षमता ४०५ घनमिटर प्रतिसेकेन्ड रहनेछ भने वार्षिक ऊर्जा उत्पादन १,६४५.६५ गिगावाट घण्टा हुने अनुमान गरिएको छ।

आयोजनामा चारवटा स्टिल पेनस्टक र चारवटा फ्रान्सिस टर्बाइन जडान गर्ने प्रस्ताव छ। विद्युत्गृह पर्वतको बिहादी गाउँपालिकाको बर्राचौर क्षेत्रमा निर्माण गरिनेछ।

आयोजनाबाट पर्वतका जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र बिहादी गाउँपालिकाका विभिन्न वडा प्रभावित हुनेछन्।

त्यस्तै बागलुङ नगरपालिका र जैमिनी नगरपालिका (बागलुङ), कालीगण्डकी गाउँपालिका (गुल्मी) तथा गल्याङ नगरपालिका (स्याङ्जा) पनि प्रभावित क्षेत्रमा पर्नेछन्।

आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय मूल्यांकन विद्युत् विकास विभागको समन्वयमा स्मेक इन्टरनेसनल र जेड कन्सल्टको संयुक्त परामर्शदाता टोलीले गरिरहेको छ।

प्रस्तावित आयोजना पृथ्वी राजमार्ग, पोखरा–बागलुङ सडकखण्ड, दोबिल्ला–फलेवास सडक, कालीगण्डकी लोकमार्ग तथा कालीगण्डकी करिडोरमार्फत पुग्न सकिनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *