गण्डकी — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि जडान गरिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्माण प्रभावित भएको छ।
कुँडहरस्थित सबस्टेशनदेखि विमानस्थल प्रवेशमार्गसम्मका २९ वटा पोलका कारण सर्विस लेन र फुटपाथ निर्माण रोकिएको हो।
सडक आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार पोल हटाउन पटक–पटक विमानस्थल कार्यालय र नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिए पनि समाधान हुन सकेको छैन।
प्राधिकरणले भने विमानस्थलले भूमिगत संरचना निर्माणको भुक्तानी नगरेसम्म पोल हटाउन नसकिने जनाएको छ।
प्राधिकरणका पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार विमानस्थलले करिब एक करोड ६३ लाख रुपैयाँ भुक्तानी गरेपछि मात्र भूमिगत प्रणाली सञ्चालनमा आउनेछ। “भुक्तानीपछि मात्रै पुराना पोल हटाउन सकिन्छ,” उनले भने।
हाल विमानस्थल क्षेत्रमा पुरानै संरचनाबाट विद्युत् सेवा सञ्चालनमा छ। मन्त्रालयस्तरमा समेत यसबारे छलफल भइरहेको र समाधान निस्कने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ।
पोखरा–जामुने खण्डको निर्माण चालू आर्थिक वर्षभित्र सक्ने लक्ष्य रहेकाले अवरोध हटाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको आयोजना कार्यालयले जनाएको छ।
३८.७१ किलोमिटर लम्बाइको उक्त खण्डमा हालसम्म ७७.४७ प्रतिशत भौतिक र ६२.२० प्रतिशत वित्तीय प्रगति भएको छ।






