काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामाजिक न्यायसहित समग्र आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य बढाउनुपर्ने बताएका छन्।
राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसदहरूले निजी क्षेत्रको पुँजी र उद्यमशीलता बलियो नबनाई आर्थिक वृद्धि सम्भव नहुने धारणा राखे।
सांसद मनिष झा ले साना लगानीका उद्यमलाई प्राथमिकतामा राखेर अघि बढाउन सरकार तयार रहेको बताए। “निजी क्षेत्रको पुँजी र उद्यमशीलता बलियो भए मात्रै अर्थतन्त्र सुदृढ हुन्छ,” उनले भने, “देशको आर्थिक आधार नै निजी क्षेत्र भएकाले यसलाई सशक्त बनाउन आवश्यक छ।”
अर्का सांसद सुशान्त वैदिक ले सरकारले उद्यमशीलतालाई प्राथमिकता दिएको उल्लेख गर्दै साना तथा मझौला उद्योगको विकासमा जोड दिनुपर्ने बताए। “गाउँस्तरका साना उद्यमले आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउँछन्,” उनले भने, “सामाजिक न्यायसहितको आर्थिक उन्नतिका लागि यिनै उद्यमलाई सशक्त बनाउनु आवश्यक छ।”






