काठमाडौँ — सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलोपटक संयुक्त राज्य अमेरिका र इरान बीच उच्चस्तरीय प्रत्यक्ष वार्ता सुरु भएको छ।
पाकिस्तानको राजधानी इस्लामावाद मा शनिबार सुरु भएको वार्तालाई मध्यपूर्वमा जारी तनाव न्यूनीकरणतर्फको महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ।
इस्लामावादस्थित सेरेना होटलमा भइरहेको छलफलमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफ ले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्।
इरानी टोलीमा विदेशमन्त्री अब्बास अराघची समेत सहभागी छन्। वार्ता पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ को मध्यस्थतामा भइरहेको हो।
करिब छ सातादेखि जारी क्षेत्रीय द्वन्द्व अन्त्य र स्थिरता कायम गर्ने उद्देश्यले सुरु गरिएको वार्तालाई ध्यानमा राख्दै इस्लामावादमा कडा सुरक्षा व्यवस्था गरिएको छ।
वार्तामा इरानले अमेरिकाले रोक्का गरेको करिब १२० अर्ब डलर बराबरको सम्पत्ति फुकुवा गर्नुपर्ने, लेबनान मा युद्धविराम र क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ।
अमेरिकाले भने इरानको आणविक कार्यक्रममाथि कडाइका साथ सम्झौता, हिरासतमा रहेका अमेरिकी नागरिकको रिहाइ र विश्व व्यापारका लागि महत्वपूर्ण स्ट्रेट अफ हर्मज खुला राख्नुपर्ने अडान अघि सारेको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले वार्ता असफल भए सैन्य विकल्प प्रयोग गरिने चेतावनी दिएका छन्।
वार्ताकै बीच इजरायल ले लेबनानमा हिजबुल्लाह लक्षित आक्रमण जारी राखेकाले वार्ताको वातावरण चुनौतीपूर्ण बनेको छ।
विश्व बजारमा देखिएको अस्थिरता र तेल मूल्यमा आएको उतारचढाव नियन्त्रण गर्न पनि यो वार्तालाई निर्णायक मानिएको छ।






