नेप्से र टाइम फर्मास्युटिकल्सबीच शिलबन्दी बोलपत्र सञ्चालन सम्झौता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र टाइम फर्मास्युटिकल्स लिमिटेडबीच शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताअनुसार बुक बिल्डिङ्ग विधिमार्फत सेयर निष्काशन प्रक्रियामा आवश्यक सहजिकरण, बोलपत्र दर्ता, खोल्ने तथा मूल्य निर्धारण सम्बन्धी कार्य नेप्सेले प्रचलित धितोपत्र कानून र निर्देशिकाअनुसार सञ्चालन गर्नेछ।

सम्झौतामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईं र टाइम फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक सुदर्शन लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कम्पनी सचिव अधिवक्ता सुदिप घिमिरे तथा सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टका प्रतिनिधि नोहर कडेलको पनि उपस्थिति रहेको थियो।

टाइम फर्मास्युटिकल्सले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरले कुल १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ, जसको कुल मूल्य १० करोड ८६ लाख ५० हजार रुपैयाँ हुनेछ। निष्काशन गरिने सेयरमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्ताका लागि तथा बाँकी ६० प्रतिशत सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ। सेयर निष्काशनपछि कम्पनीको चुक्तापुँजी ५३ करोड रुपैयाँ पुग्नेछ।

करिब ३० वर्षदेखि औषधि उत्पादनमा सक्रिय टाइम फर्मास्युटिकल्स लिमिटेडको केन्द्रीय कार्यालय नवलपरासी ९गैंडाकोट०मा रहेको छ भने उत्पादन प्लान्ट र मार्केटिङ कार्यालय क्रमशः गैंडाकोट–१० र ललितपुर सातदोबाटोमा सञ्चालनमा छन्। करिब ३०० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको कम्पनीले २०० भन्दा बढी गुणस्तरीय औषधि उत्पादन गर्दै आएको छ। कम्पनी डब्लुएचओ–जीएमपी प्रमाणित रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *