दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदीरम्घामा आज (सोमबार) भानु साहित्य उद्यानको शिलान्यास गरेका छन् ।
भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई मूर्त रूप दिने चिन्तन समेटिएको छ ।
रम्घाको शिखरमा गोलघरमाथि भानुभक्तको विशाल प्रतिमा स्थापना, त्यसको भित्री भागमा भानुभक्तको जीवनीको झलक, उपयुक्त स्थानमा भानुभक्तसहित नेपालका विविध भाषाका आदिकवि र प्रमुख स्रष्टाहरूका मूर्ति स्थापना भानुभक्तको साहित्यिक व्यक्तित्वलाई चिनाउने अवधारणा समावेश छ । रामायण मन्दिर निर्माण गरी भानुभक्तको कृतित्वलाई मूर्त रूप दिने अवधारणा पनि छ ।
त्यसैगरी, साहित्य ग्राम, प्रज्ञा भवन, वनस्पति उद्यान र मनोरञ्जन उद्यान निर्माण गर्नु र भानुभक्तकालीन बस्ती र बजार क्षेत्र विकास गर्ने अवधारणा योजनामा छन् । उद्यानको अर्को प्रमुख अवधारणा सप्तधाम निर्माण गर्ने रहेको छ । यो अवधारणा वर्तमान नेपालको सङ्घीय संरचनाअन्तर्गत रहेका सातै प्रदेश र प्रमुख सांस्कृतिक स्थलका लघु संरचना निर्माण गरी नेपालको राष्ट्रिय स्वरूपलाई झल्काउनु र राष्ट्रिय एकताको केन्द्रका रूपमा यसलाई विकसित गरे ।
यसअन्तर्गत नेपालको सात प्रदेशका सात प्रसिद्ध धाम निर्माण गरिने छ । पहिलो चरणमा कोसीको वराहक्षेत्र दाम, मधेसको जनकपुरधाम, बाग्मतीको पशुपतिनाथधाम, गण्डकीको मुक्तिनाथ धाम, लुम्बिनीको लुम्बिनीधाम, कर्णालीको चन्दननाथधाम र सुदूरपश्चिमको वैद्यनाथधाम समेटिएका छन् । यस क्षेत्रमा तत् तत् क्षेत्रका सबै जात जातिका सांस्कृतिक पहिचानलाई थप्दै लैजाने योजना रहेको छ ।
उद्यानको शिलान्यास गर्दै राष्ट्रपति पौडेलले स्रष्टा मुलुकको पुँजी र पहिचान भएकाले स्रष्टाको सम्मान गरी भाषा, साहित्यको विकासमा सरकार तथा सम्बद्ध सबै पक्षले ध्यान केन्द्रित गर्न जरुरी रहेको धारणा व्यक्त गरे ।
‘आज हामी भानुभक्तको जन्मस्थलमा उभिएका छौँ, भानुभक्तले यही भूमिमा हुर्के–वढेर काव्यकृतिहरू सिर्जना गरे, त्यसैले, हामीले भानुभक्तप्रति गर्ने सच्चा श्रद्धाञ्जली भनेको उनको जन्मभूमिलाई नेपाली भाषा, साहित्य र संस्कतिको त्रिवेणीका रूपमा विकास गर्नु हो, यस्तो प्रयास निकैअघिदेखि प्रारम्भ हुँदै आएको पनि छ’, राष्ट्रपति पौडेलले भने ।






