रुपन्देही । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल लाई यथाशीघ्र सञ्चालनमा ल्याउन सिद्धार्थनगर नगरपालिका का जनप्रतिनिधिले सरकारसँग माग गरेका छन्।
सोमबार भैरहवामा आयोजित नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा जनप्रतिनिधिहरूले विमानस्थल नियमित सञ्चालनमा ल्याउन सङ्घीय सरकारको ध्यानाकर्षण गराएका हुन्।
कार्यक्रममा नगरप्रमुख इश्तियाक अहमद खाँ ले अर्बौं रुपैयाँको लगानीमा निर्माण भएको विमानस्थल लामो समयसम्म सञ्चालनमा नआउनु दुर्भाग्यपूर्ण भएको बताए।
उनले विमानस्थल सञ्चालनमा आएपछि आर्थिक गतिविधि बढ्ने र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
उनका अनुसार लुम्बिनी क्षेत्रको विकासले समग्र मुलुककै आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ।
“विमानस्थल नियमित सञ्चालन भए पर्यटक आवागमन बढेर देशको अर्थतन्त्र चलायमान हुन्छ,” उनले भने।
नगर प्रवक्ता मुक्तिनाथ यादव ले विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका उद्योगी–व्यवसायी प्रभावित भएको बताए।
उनले आवश्यक पहल गरी शीघ्र सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरे।
स्थानीय तहले पनि विमानस्थल सञ्चालनका लागि आवश्यक समन्वय र पहल जारी राख्ने जनाएको छ।






