काठमाडौं। राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा देशबासीलाई सम्बोधन गर्दै अमेरिकाको जितसहित इरान युद्ध समाप्तिको नजिक पुगेको बताएलगत्तै विश्वव्यापी तेल बजार उकालो लागेको छ।
इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि चुलिएको इन्धन अभावले विश्व प्रभावित भइरहेको छ।
ट्रम्पले सम्बोधन सुरु गर्नुअघि बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल लगभग १०० डलर थियो। भाषणका क्रममा उतारचढावपूर्ण रहे पनि सम्बोधनपछि तेलको मूल्य ४ प्रतिशतले बढेर १०५.३८ डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
ट्रम्पले होर्मुज स्ट्रेट जलमार्गबारे घोषणा गर्न सक्ने अपेक्षा गरिए पनि सम्बोधन नगरिँदा तेलको मूल्य बढ्दै गएको छ। होर्मुज स्ट्रेटबाट विश्वव्यापी ३० प्रतिशत ऊर्जा व्यापार हुने गरेको छ।
उनले इरानी नौसेना समाप्त भएको, वायुसेना भग्नावशेषमा परिणत भएको र इरानका अधिकांश शीर्ष नेताहरू मारिएको दाबी गरे ।ट्रम्पका अनुसार इरानको मिसाइल र ड्रोन प्रहार गर्ने क्षमता अहिले व्यापक रूपमा कटौती भएको छ। ‘अमेरिकाले जितिरहेको छ र यो जित पहिलेको भन्दा निकै ठूलो छ,’ उनले भने।






