काठमाडौं। यस वर्षको एसईई परीक्षा लाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्ड का अनुसार यस पटक उत्तरपुस्तिका परीक्षणलाई विकेन्द्रीकृत गर्दै सम्बन्धित क्षेत्रमै जाँच गर्ने व्यवस्था गरिएको छ। यसले उत्तरपुस्तिका ओसारपसारमा लाग्ने समय घटाएर नतिजा छिटो प्रकाशन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल ले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा ल्याउन निर्देशन दिएका थिए। सोहीअनुसार बोर्डले परीक्षण प्रणालीमा परिवर्तन गरेको हो।
यस वर्ष देशभर तथा वैदेशिक केन्द्रसहित ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। जापानस्थित केन्द्रसहित कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ।






