काठमाडौं। सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवानिवृत्त भएका छन्। उनलाई मंगलबार सर्वोच्चका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले बिदाइ गरिन्।
२०८१ असोज २० मा प्रधानन्यायाधीश नियुक्त भएका राउत ६५ वर्ष उमेरहदका कारण अनिवार्य अवकाश भएका हुन्। उनको अवकाशपछि बुधबारदेखि वरिष्ठतम् न्यायाधीश मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन् ।
प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ।
प्रधानन्यायाधीशले अवकाश पाउनुभन्दा एक महिना अगाडि संवैधानिक परिषद् बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।






