काठमाडौं । नबिल बैंकको अग्राधिकार शेयर भोलि सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ।
गत मंसिर ५ गते नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर निष्कासन गर्न अनुमति दिएको थियो। सोहीअनुसार बैंकले ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ पुस २ गते संस्थागत लगानीकर्तालाई बाँडफाँट गरेको थियो।
उक्त अग्राधिकार शेयर आज नेपाल स्टक एक्सचेन्ज मा सूचीकृत भएको छ। नेप्सेमा सूचीकृत भएको शेयर सामान्यतया दोस्रो दिनदेखि कारोबारमा आउने व्यवस्था अनुसार यो शेयर पनि भोलिदेखि कारोबारमा आउनेछ।
यो अग्राधिकार शेयर संस्थागत लगानीकर्ताबीच मात्र किनबेच हुने व्यवस्था गरिएको छ। सर्वसाधारण लगानीकर्ता, धितोपत्र बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी (जस्तै धितोपत्र दलाल, धितोपत्र व्यापारी, मर्चेन्ट बैंकर) तथा सामूहिक लगानी कोषले भने यसमा खरिदबिक्री गर्न पाउने छैनन्।
नबिल बैंकको उक्त अग्राधिकार शेयरमा संस्थागत लगानीकर्ताले नाफा भएको वर्षमा मात्र ८ प्रतिशत लाभांश प्राप्त गर्नेछन्।






