काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि भदौ २७ मा अन्तरिम चुनावी सरकारको नेतृत्व लिएर बालुवाटार प्रवेश गरेकी प्रधानमन्त्री सुशीला कार्कीले सम्भवतः छिट्टै सरकारी निवास छाड्दै छन्।
प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित तत्कालीन केपी शर्मा ओली सरकारको बर्खास्तगी र संसदलाई विघटन गराउन भूमिका खेलेकी कार्कीले फागुन २१ को निर्वाचन सम्पन्न गराएर आफूले पाएको जिम्मेवारी भने पूरा गरिन्।
जेनजी आन्दोलनको स्वर बोल्दै पुराना पार्टी कांग्रेस र एमालेलाई बिच्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउन सक्दो भूमिका खेलिन्।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले सम्भवतः चैत १३ मा प्रधानमन्त्रीको शपथ लिनेछन् भने सरकारी निवास बालुवाटार बस्नेछन्।
सोही कारण प्रधानमन्त्री कार्कीले यसै साता बालुवाटार छाड्ने भएकी छन्। फागुन २१ को चुनावपछि नयाँ सरकार आउने भएसँगै उनले यसै साता बालुवाटार छोड्ने तयारी भइरहेको हो।
कामलचाउ हैसियतमा परिणत प्रधानमन्त्री कार्कीले अहिले सामान्य काम र भेटघाट मात्रै जारी राखेको एक मन्त्रीले बताए। सम्भवतः चैत १३ मै कार्की निजी निवास जानेछन्।
प्रधानमन्त्रीको सरकारी निवासबाट अहिले सरसामान निजी निवासमा लैजाने काम भइरहेको छ। कार्की हाल धुम्बाराहीमा बस्दै आएकी छन्।






