१ अर्ब बढीको अवैध क्रिप्टो कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं। प्रहरीले काठमाडौंबाट क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) कारोबारमा संलग्नताको आशंकामा तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्ने तीन जनामध्ये एक भारतीय र दुई नेपाली रहेको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी मनोहरप्रसाद भट्टले बताए। भारतको पश्चिम बंगाल घर भई हाल ललितपुरको एकान्तकुना बस्ने ४१ वर्षीय प्रवेश अली, बाँकेको नेपालगञ्ज घर भई हाल काठमाडौंको बौद्ध जोरपाटी बस्ने ३१ वर्षीय नरेश रेउले र सर्लाहीको ईश्वरपुर घर भई हाल ललितपुरको नख्खु बस्ने ३० वर्षीया दीप्ति पोखरेल छन्।

हुन्डी तथा क्रिप्टो करेन्सीको अवैध कारोबार गरेको सूचनाका आधारमा खटिएको प्रहरीले चैत ६ गते साढे २ बजे काठमाडौंको सामाखुसीबाट रेउलेलाई पक्राउ गरेको थियो।

त्यसपछि थप दुईजनालाई पक्राउ गरिएको भट्टले जानकारी दिएका छन्। भट्टका अनुसार सामाखुसीबाट पक्राउ परेकी पोखरेलको साथबाट १५ लाख ३० हजार नगद बरामद भएको छ।

अलीलाई ललितपुरको एकान्तकुनाबाट पक्राउ गरिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफ्नो मोबाइलबाट बाइनान्स आईडी प्रयोग गरी हालसम्म ९१ लाख ८१ हजार ५१३.९६ यूएसटीडी (नेपाली रुपैयाँ १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५८०) रकम कारोबार गरेको देखिएको भट्टले जानकारी दिएका छन्। पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *