मुस्ताङ — मुस्ताङमा यस सिजनको छैटौँ पटक परेको हिमपातले किसान तथा पशुपालकलाई राहत दिएको छ। अनुकूल समयमा लगातार हिउँ परेकाले उच्च लेकका चरन क्षेत्र हिउँले ढाकिँदा आगामी दिनमा पर्याप्त घाँस उत्पादन हुने अपेक्षा गरिएको छ।
शुक्रबार राति मुक्तिनाथ क्षेत्रसहित माथिल्लो मुस्ताङका विभिन्न स्थानमा भारी हिमपात भएको हो। घरपझोङ र थासाङका उच्च भेगमा हिमपात तथा बस्ती क्षेत्रमा वर्षा भएको छ।
स्थानीय पशुपालकका अनुसार पछिल्ला वर्षहरूमा समयमै हिउँ नपर्दा चरन क्षेत्रमा घाँस अभाव हुँदै आएको थियो। यस वर्ष भने हिउँले जमिनलाई आवश्यक चिस्यान दिनुका साथै बाली उत्पादन र पशुपालनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
अनुकूल हिमपातले बालीमा लाग्ने रोग–कीरा नियन्त्रणमा समेत सहयोग पुग्ने र वन्यजन्तुको जोखिम घट्ने स्थानीयको विश्वास छ।
Artha Sanjal






