काठमाडौं । अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
अछामको ढकारी गाउँपालिकाले हमालको तस्बिर प्रयोग गरेर वृत्तचित्र निर्माणको नाममा १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद, साथै आरजे ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्सालविरुद्ध दायर गरिएको छ ।
हमालको नाम जोडेर व्यक्तिगत निर्देशनसमेत भई चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ भुक्तानी गरिएको पाइएको अख्तियारले उल्लेख गरेको छ ।
अख्तियारले गाउँपालिका प्रमुखविरुद्ध भ्रष्टाचार भएको रकम बराबरको बिगो र थप सजाय पनि माग गरेको छ । बिगो रकम १२ लाख ७७ हजार २५० रुपैयाँ माग गरिएको छ ।






