काठमाडौं। इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेको १५ दिन पुगेको छ।
ऋाफूमाथि आक्रमण भएपछि प्रत्याक्रमणमा उत्रिएको इरानले छिमेकमा रहेका अमेरिकी सैन्य बेस क्याम्प र विश्व आपूर्तिको रणनीतिक जलमार्ग होर्मुज बन्द गरेपछि इनधन अभाव चुलिएको छ।
इरानले महत्त्वपूर्ण समुद्री मार्ग बन्द गरेसँगै र छिमेकी मुलुकका ऊर्जा र ढुवानी उद्योगको लक्ष्यमा आक्रमण गरेपछि इन्धनको मूल्य विश्वव्यापी रूपमा ४० प्रतिशतले बढेको छ।
खाडी मुलुकबाट ६० प्रतिशत इन्धन आपूर्ति गर्र्दै आएको भारतले युद्धका कारण आपूर्ति अवरोध भएपछि त्यसको असर नेपालमा समेत परेको छ।
इन्धनमा भारत आश्रित नेपालले ग्यास, पेट्रोल, डिजेल, हवाई इन्धनमा ह्वात्तै मूल्य बढाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ।
निगमका अनुसार नयाँ मूल्य आजैदेखि लागू हुने गरी समायोजन गरिएको छ।
मूल्यवृद्धिसँगै अब पेट्रोल प्रतिलिटर १८८, डिजेल १९६ र एलपी ग्यास प्रतिसिलिन्डर २१२६ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।
इरान युद्ध तेस्रो सातामा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारेल १०५ डलरभन्दा माथि पुगेको छ।
अमेरिकी प्रशासनले युद्ध अझ केही साता लम्बिन सक्ने संकेत दिएको र राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल ट्यांकरको आवतजावत पुनः सञ्चालन गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेपछि तेलको मूल्य उकालो लागेको हो।
ब्रेन्ट क्रुडको मूल्य २.९ प्रतिशतले बढेर प्रतिब्यारेल करिब १०६.१२ डलर पुगेको छ। अमेरिकी कच्चा तेलको मूल्य पनि २.६ प्रतिशतले बढेर १०१.५३ डलर पुगेको छ।
तेल बजारमा नियमित कारोबार समयबाहिर हुने व्यापारमा मूल्य बढी उतारचढाव हुने गर्दछ, किनकि कम कारोबार हुँदा लगानीकर्ताले आफ्नो जोखिम सन्तुलन गर्न थाल्छन्।
गत आइतबार तेलको मूल्य झन्डै १२० डलर प्रतिब्यारेलसम्म पुगेको थियो भने सोमबार दिनभर भने करिब १०० डलर आसपासमा स्थिर भएको थियो।
अमेरिकी प्रशासनले बढ्दो इन्धन मूल्य नियन्त्रण गर्न देशभित्रै तेल उत्पादन विस्तार गर्ने प्रयास पनि थालेको छ।
शनिबार अमेरिकाको खाडी क्षेत्रमा बीपीको नयाँ परियोजनालाई स्वीकृति दिइएको छ, जुन डिपवाटर होराइजन दुर्घटनापछि कम्पनीको पहिलो नयाँ परियोजना हो।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य देशले आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा छाड्ने सहमति गरेका छन्।
यो संस्थाको इतिहासकै सबैभन्दा ठूलो संयुक्त कदम मानिएको छ, यद्यपि अमेरिका र युरोपबाट आउने तेल मार्चको अन्त्यपछि मात्रै बजारमा आउने बताइएको छ।







