काठमाडौं । अन्तर्राष्ट्रिय साख मूल्यांकन संस्था Fitch Ratings ले Rastriya Swatantra Party (आरएसपी) ले संसदमा स्पष्ट बहुमत ल्याएपछि नेपालको निकट भविष्यको राजनीतिक अनिश्चितता घट्ने र नीतिगत स्थिरताको सम्भावना बढ्ने जनाएको छ।
संस्थाका अनुसार चुनावी परिणामले लामो गठबन्धन वार्ताको जोखिम कम गर्नुका साथै बारम्बार सरकार परिवर्तन हुने विगतको प्रवृत्ति पनि घट्न सक्छ।
सुशासन र आर्थिक सुधारमा ठोस प्रगति भए लगानीकर्ताको मनोबल बढ्ने पनि फिचको भनाइ छ।
फिचले आरएसपीले आगामी पाँच वर्षमा औसत ७ प्रतिशत आर्थिक वृद्धि र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलरभन्दा माथि पुर्याउने लक्ष्यलाई महत्वाकांक्षी भनेको छ। संस्थाले भने आर्थिक वर्ष २०२७ का लागि नेपालको वृद्धि दर करिब ४.५ प्रतिशत रहने आफ्नो अनुमान कायम राखेको छ।
आरएसपीको नीतिगत एजेन्डामा उत्पादकत्व वृद्धि, औपचारिक रोजगारी सिर्जना, पूर्वाधार, कृषि, सेवा तथा डिजिटल क्षेत्रमा निजी र विदेशी लगानी बढाउने योजना रहेको उल्लेख गरिएको छ।
फिचले भने कार्यान्वयन क्षमता अझै प्रमुख चुनौती रहेको औंल्याएको छ। नेपालको सरकारी प्रभावकारिता र नियामक गुणस्तर समकक्ष देशको तुलनामा कमजोर रहेकाले सुधार कार्यान्वयनमा जोखिम रहन सक्ने चेतावनी दिएको छ।
संस्थाले नोभेम्बर २०२५ मा नेपालको ‘बीबी’ साख मूल्यांकन स्थिर आउटलुकसहित पुनः पुष्टि गरेको थियो। कम सरकारी ऋण, बलियो बाह्य तरलता र जलविद्युतमा आधारित आर्थिक सम्भावनालाई नेपालको साखका आधार मानिएको छ।
तर प्रतिव्यक्ति आय, सुशासन सूचकांक र प्राकृतिक प्रकोपको जोखिम अझै चुनौतीकै रूपमा रहेको फिचले जनाएको छ।






