काठमाडौं। सरकारी स्वामित्वको नेपाल टेलिकमले मोबाइल प्रयोगकर्ताका लागि सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध गराएको छ।
टेलिकमले एकैपटक धेरै व्यक्तिलाई सूचना प्रवाह गर्ने गरी दुई हजारदेखि १० हजारसम्म सन्देश पठाउन सकिने प्याकेज सार्वजनिक गरेको हो।
एउटै सन्देश ठूलो संख्यामा ग्राहक, कर्मचारी, सेवाग्राही वा सदस्यसम्म पुर्याउनुपर्ने व्यक्ति तथा संस्थाले यो सेवाबाट लाभ लिन सक्नेछन्।
शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, व्यावसायिक प्रतिष्ठानलगायतले पहिलेदेखि नै यो सेवा प्रयोग गर्दै आएका छन्।
टेलिकमले तोकेको शुल्कअनुसार १,२४३ मा २ हजार एसएमएस, ३१०८ मा ५ हजार एसएमएस र ६,२१५ मा १० हजार एसएमएस पठाउन सकिनेछ।
आवश्यकताअनुसार प्याकेज छनोट गरी एकैपटक ठूलो संख्यामा सन्देश प्रेषण गर्न सकिने कम्पनीले जनाएको छ।
सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा दर्ता भएको कम्पनीको सिमकार्ड अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था छ।
यो सेवा मोबाइल, डेस्कटप वा ल्यापटपबाट अनलाइनमार्फत प्रयोग गर्न सकिनेछ।






