काठमाडौँ। जावलाखेल डिस्टिलरी प्रालिले नेपालको रेडी–टु–ड्रिङ्क (आरटीडी) श्रेणीमा नयाँ उत्पादन सार्वजनिक गरेको छ। कम्पनीले ‘रुस्लान – रिफ्रेसिङ अल्कोहोलिक पेय’ नामक पेय बजारमा ल्याएको हो।
कम्पनीका अनुसार नेपाली अल्कोहोलिक पेय बजारमा पहिलोपटक ‘पीच आइस टी’ स्वादमा आरटीडी उत्पादन प्रस्तुत गरिएको हो। ‘रुस्लान’ को पहिलो संस्करण ५ प्रतिशत अल्कोहोल मात्रा (एबीभी) सहित बजारमा उपलब्ध गराइएको छ। फरक सोच र नयाँ अनुभव खोज्ने युवापुस्तालाई लक्षित गर्दै उत्पादन तयार गरिएको कम्पनीले जनाएको छ।
अभिव्यक्तिशील र अनुभव–केन्द्रित युवा उपभोक्तालाई ध्यानमा राखेर तयार गरिएको उक्त पेयले मौलिकता, व्यक्तित्व र आत्मविश्वासलाई प्रतिनिधित्व गर्ने दाबी कम्पनीको छ। ट्रेन्ड पछ्याउनेभन्दा आफ्नै शैली स्थापित गर्न चाहने पुस्तालाई प्रेरित गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ।
विश्वव्यापी रूपमा लोकप्रिय ‘पीच आइस टी’ स्वादलाई अल्कोहोलिक स्वरूपमा रूपान्तरण गर्दै आधुनिक र सहज रूपमा पिउन मिल्ने पेयका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। सन्तुलित ५ प्रतिशत अल्कोहोल मात्राले परिचित स्वादलाई नयाँ अनुभवमा रूपान्तरण गर्ने प्रयास गरिएको बताइएको छ।
कम्पनीका अनुसार ‘रुस्लान’ ले नेपालमा आरटीडी पेयको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ। बदलिँदो जीवनशैली र सामाजिक संस्कृतिसँग जोडिएको ब्रान्डका रूपमा अघि बढाउने योजना कम्पनीको रहेको छ।
२७५ मिलिलिटरको क्यानमा उपलब्ध यो पेय हाल काठमाडौंका केही चयनित पसलहरूमा प्रतिक्यान २२५ रुपैयाँमा बिक्री भइरहेको कम्पनीले जनाएको छ।






