काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दा उच्च अदालत पाटनमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार थुनामुक्त हुन माग गर्दै दिएको निवेदन जिल्ला अदालत काठमाडौँले अस्वीकार गरेपछि सो उपर उच्च अदालत पाटन गएका हुन् ।
रायमाझी र झाले दिएको निवेदन उच्च अदालत पाटनका न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र गोपाल प्रसाद बास्तोलाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । पुस २५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ (२) बमोजिम निवेदन दिएका हुन् ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ (२) अन्तर्गत थुनामुक्त गर्न अस्वीकार गरेपछि रायमाझी सो उपर उच्च अदालत पाटन पुगेका हुन् । यस्तै बेचन झाले जिल्ला अदालतले छाड्न अस्वीकार गरेपछि पुस ११ गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।







