जीवन बीमामा पोलिसी सरेण्डर घट्यो, व्यतित बीमालेख बढ्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूमाथि पोलिसी सरेण्डरको दबाब केही हदसम्म कम भएको देखिएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त) सम्म जीवन बीमा कम्पनीहरूबाट बाहिरिएको सरेण्डर रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.७७ प्रतिशतले घटेको छ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार चालू आवको पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरूबाट पोलिसी सरेण्डरमार्फत ५ अर्ब ६९ करोड २१ लाख रुपैयाँ बाहिरिएको छ। गत आवको यही अवधिमा यस्तो रकम ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ थियो। एक वर्षको अवधिमा सरेण्डर रकम उल्लेख्य रूपमा घट्नु बीमा बजारका लागि केही सकारात्मक संकेतका रूपमा हेरिएको छ।

प्राधिकरणको तथ्याङ्कअनुसार सरेण्डर रकमसँगै बीमालेख समर्पण गर्नेको संख्या पनि घटेको छ। गत आवको पुस मसान्तसम्म ५४ हजार ४१४ जनाले जीवन बीमाको पोलिसी सरेण्डर गरेकामा चालू आवको सोही अवधिमा यस्तो संख्या ५१ हजार ७७ मा सीमित भएको छ। यसअनुसार बीमालेख समर्पण गर्नेको संख्या ६.१४ प्रतिशतले घटेको देखिन्छ।

तर, अर्कोतर्फ, जीवन बीमा व्यवसायमा अर्को चुनौती पनि देखिएको छ। बीमालेख नविकरण नहुने अर्थात् व्यतित बीमालेखको रकम भने बढ्दै गएको छ। गत आवको पुस मसान्तसम्म ३६ अर्ब १६ करोड ८९ लाख रुपैयाँ रहेको व्यतित बीमालेख रकम चालू आवको सोही अवधिमा बढेर ३७ अर्ब ८० करोड ७६ लाख रुपैयाँ पुगेको छ, जुन ४.५३ प्रतिशतले बढी हो। व्यतित बीमालेखको संख्या पनि ०.१७ प्रतिशतले बढेर १२ लाख ३१ हजार ६५० पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो संख्या १२ लाख २८ हजार ५०६ थियो।

पोलिसी सरेण्डरदर घटे पनि व्यतित बीमालेखको संख्या र रकम बढ्दै जानु जीवन बीमा कम्पनीहरूको लागि दीर्घकालीन व्यवसायका लागि चिन्ताको विषय बनेको छ। नविकरण नहुने बीमालेख बढ्दै जाँदा कम्पनीहरूको प्रिमियम संकलन, नगद प्रवाह र जोखिम व्यवस्थापनमा नकारात्मक असर पर्ने देखिन्छ।

केही समयअघि देशको राजनीतिक अस्थिरता, सहकारी संकटमा लाखौँ नागरिकको रकम फसेको अवस्था र त्यसबाट सिर्जित अविश्वासका कारण जीवन बीमामा समेत सरेण्डरको लहर चलेको थियो। बीमितहरू ‘प्रिमियम पनि डुब्ने हो कि’भन्ने आशंकामा पोलिसी सरेण्डरतर्फ आकर्षित भएका थिए। त्यही कारण एक समय जीवन बीमामा सरेण्डर अवस्था भयावह बन्दै गएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *