प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पालिका चुनावका लागि मतपत्र कडा कागजमा छापिएकाले राजनीतिक दलहरूले मतपत्र च्यात्छु र चपाउँछु भन्ने सोच नराख्न आग्रह गरेका छन् । आज शुक्रवार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरूका लागि अन्तरक्रिया र अभिमूखीकरण कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले विगतमा भएका गल्तीका कारण आयोगमाथि बत्ती निभ्छ कि निभ्दैन जस्ता आरोपहरू लागिरहेको भन्दै लोकतन्त्रमा विश्वास गरेर उम्मेदवारी दिने दल र उम्मेदवारहरूलाई मतपत्र च्यातेर र चपाएर जित्छु भन्ने सोचबाट मुक्त हुन आग्रह गरे । उनले भने, ‘लोकतन्त्रलाई विश्वास गरेर उम्मेदवारी दिने राजनीतिक दल र उम्मेदवारहरू यत्ति कुरा हेक्का राखिदिनुहोस्, यो वर्षको मतपत्र अलिकति कडा कागजमा छापिएको छ, त्यस कारण यसलाई च्यात्ने र चपाउने सोचबाट मुक्त भइदिनुहोस् । यो अनुरोध हो । छाप्दै त्यसै गरी छापेको हो । यो कुरा बुझिदिनुभयो भने आउँदा दिनमा यस्ता प्रश्न उठ्दैनन् ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले पालिका चुनाव सुरक्षित, भयरहित, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । संयमित भएर राजनीतिक दल र उम्मेदवारहरूले पालिका चुनावलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।
उनले विभिन्न राजनीतिक दलका नेताले स्वतन्त्र उम्मेदवारी दिँदा धम्की, त्रास र चेतावनी दिएको गोप्य सूचना आइरहेको भन्दै त्यो सह्य नहुने बताए । उनले लोकतन्त्रलाई विश्वास गरेर चुनावमा गएको हो भने लोकतन्त्रमा चुन्ने र चुनिन पाउने अधिकारलाई कुनै पनि हालतमा कुण्ठित गर्न नमिल्ने स्पष्ट पारे ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले कुनै पक्षले जितका लागि जे पनि गतिविधि गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आयोगलाई सुझाव दिइन । अर्का पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अहिलेको समयमा निर्वाचन परीवेक्षण गर्न जरुरी रहेकोले आयोगले त्यसमा जोड दिनुपर्ने बताए






