रामेछापमा १७ जनाको उम्मेदवारी पर्दा एक जनामात्र महिला

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रामेछापमा १४ वटा राजनीतिक दल र ३ जना स्वतन्त्र गरी कुल १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये एक जनामात्र महिला उम्मेदवार रहेकी छन् ।
जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट केसरी श्रेष्ठले मात्र महिला उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएकी हुन् ।

निर्वाचनका लागि राजनीतिक दलतर्फ नेपाली कांग्रेसबाट रामचन्द्र खड्का, नेकपा (एमाले) बाट माधवप्रसाद ढुङ्गेल, नेपाली कम्युनिष्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. कृष्णहरि बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गोरे तामाङ, राष्ट्रिय जनमोर्चाबाट अर्जुनबहादुर थापा मगर र श्रम संस्कृति पार्टीबाट ढालबहादुर खपाङ्गी मगरले मनोनयन दर्ता गराएका छन् । नेशनल रिपब्लिक पार्टीबाट यमबहादुर मोक्तान, उज्यालो नेपाल पार्टीबाट दीपबहादुर योञ्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट वीरेन्द्र श्रेष्ठ, आम जनता पार्टीबाट पदमबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसनबाट विनोद घिसिङ तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट यमुनबहादुर बस्नेतले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

तीन जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारहरूमा अरुण कार्की, बाबुकाजी खड्का र सन्तोष घिमिरे रहेका छन् । उम्मेदवारी दर्तापछि कानुनअनुसार मनोनयन पत्रमाथि प्रमाणसहित उजुरी (दाबी–विरोध) गर्ने समय आजका लागि तोकिएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजेन्द्र नेपालका अनुसार भोलि दाबी–विरोधमाथि जाँचबुझ गरी त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *