पाल्पा सिमेन्टको आईपीओमा वैदेशिक रोजगारीबाट ७९ हजारभन्दा बढीको आवेदन

काठमाडौं। पाल्पा सिमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खरिदका लागि वैदेशिक रोजगारीमा रहेका ७९ हजार ७० जना नेपालीले आवेदन दिएका छन्।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का अनुसार पुस २५ देखि ३० गतेसम्मको आवेदन अवधिमा यी आवेदकहरूले १४ लाख ३ हजार ११० कित्ता शेयरको माग गरेका हुन्।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा ५ लाख ६२ हजार ५०० कित्ता शेयर छुट्ट्याएको थियो।

पाल्पा सिमेन्टले आफ्नो ३ अर्ब ७५ करोड रुपैयाँको जारी पुँजीको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्ने अनुमति पाएको छ।

प्रतिशेयर १०० रुपैयाँका दरले निष्कासन हुने शेयरमध्ये १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित स्थानीयका लागि छुट्याइएको छ।

स्थानीय बासिन्दाले छिटो माघ ९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ २५ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था छ।

वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्छन्।

नवलपरासीमा अवस्थित यो कम्पनीले तानसेन ब्राण्डमा पीपीसी, ओपीसी र पीएससी सिमेन्टको उत्पादन तथा विक्री गर्दै आएको छ।

कम्पनीले २०७६ वैशाखदेखि क्लिंकर र २०७७ वैशाखदेखि सिमेन्ट उत्पादन सुरु गरेको हो।आर्थिक वर्ष ०८१/८२ को वास्तविक वित्तीय विवरणअनुसार कम्पनी १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ७४ पैसा र प्रतिशेयर आम्दानी ३ रुपैयाँ २५ पैसा रहेको छ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड यस आईपीओको निष्कासन तथा विक्री प्रबन्धक हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *