काठमाडौं। भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत मंगलबार बन्दसत्र समापन भएको छ। बन्दसत्र समापनसँगै आजका लागि उम्मेदवारी मनोनयन कार्यतालिका सार्वजनिक गरिएको छ।
मंगलबार स्थगित उम्मेदवारी मनोनयन बिहान ८ देखि ९ बजेसम्मलाई तोकिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए।
विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उम्मेदवारी दर्ता खुला गरिएको थियो।
उम्मेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधबारका लागि सारिएको थियो। पार्टीभित्रको विवादका कारण विशेष महाधिवेशन लम्बिएको हो।
संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच अहिलेसम्म दुई विषय मिल्न नसकेको छलफलमा सहभागी नेताले बताएका छन्।
प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवारको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्ने र सभापति देउवाले राजनीतिबाट विश्राम लिने विषयमा संस्थापन पक्ष तयार नहुँदा विवाद मिल्न सकेको छैन।
विशेष महाधिवेशनको बन्दसत्र दुई वटा प्रतिवेदन पारित गरेको छ। बन्दसत्र महामन्त्री गगनकुमार थापाको समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माको सांगठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो। यसैगरी बन्दसत्रबाट केन्द्रीय निर्वाचन समितिले नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो।






