काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार नै पार्टीका महामन्त्रीद्वयसँग वार्ता गर्ने तयारी गरेका छन्।
सभापति देउवाको निवास महाराजगञ्जमा भएको छलफलपछि बाहिरिएका पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवाले आजै महामन्त्रीद्वयसँग संवाद गर्ने जानकारी दिएका हुन्।
देउवा निवासमा भएको देउवा पक्षीय नेताहरूको छलफलले महामन्त्रीद्वयसँग वार्ता गर्न सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको विश्वकर्माले बताए।
भृकुटीमण्डपमा आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जारी विशेष महाधिवेशनको सोमबार बन्दसत्र चलिरहँदा सभापति देउवाले आफूनिकट नेताहरूसँग परामर्श गरेका हुन्।
देउवा निवासमा कार्यवाहक सभापति खड्का, जीवन परियार, बद्री पाण्डे, मोहन बस्नेत, प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशशरण महतलगायत नेताहरूबीच छलफल जारी रहेको छ।
Artha Sanjal






