लुम्बिनीमा कांग्रेसलाई दुई सिट बोनस, एमाले र माओवादीलाई नोक्सान, यस्तो छ अंकगणित

बुटवल । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि आज दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि दुई ठुला दल नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीले तालमेलविना नै उम्मेदवारी दिएको छ ।

सुरुमा कांग्रेस र एमालेसँगै तालमेल गरेर निर्वाचनमा सहभागी हुने तयारी गरे पनि अन्तिममा भागबन्डा नमिलेपछि नेपाली कम्युनिस्ट पार्टीले तालमेलविना उम्मेदवार खडा गरेको हो ।

राष्ट्रिय सभामा लुम्बिनी प्रदेश अन्तर्गत तीन सिटमा निर्वाचन हुँदैछ । ती तीन सिटमा कांग्रेस–एमाले गठबन्धनबाट रामकुमारी झाँक्री, चन्द्र बहादुर केसी र वासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीले बृहस्पति अधिकारी, सर्जन विक र दुर्गा भण्डारीलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय जनमोर्चाले पनि दुई सिटमा उम्मेदवारी दिएको छ । सो पार्टीले बमबहादुर खत्री र पद्मा पण्डितलाई उम्मेदवार बनाएको हो । राष्ट्रिय जनमोर्चाको मतभार भने निकै कम छ । लुम्बिनीमा सो पार्टीका एक प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारी गरी जम्मा १२९ मतभारमात्र छ ।

लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रिय सभा सदस्यहरू गोपाल भट्टराई, जगप्रसाद शर्मा र हाल राष्ट्रिय सभाको उपाध्यक्ष रहेकी विमला घिमिरेको पदावधि फागुन २० मा सकिन लागेको हो । तीमध्ये भट्टराई र घिमिरे एमालेबाट निर्वाचित हुन् भने शर्मा माओवादी केन्द्रबाट निर्वाचित हुन् ।

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सदस्यका साथै स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । यस आधारमा लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनकै पक्षमा सहज जित हुने मतभार छ ।

लुम्बिनी प्रदेशमा प्रदेश सभा र स्थानीय तह गरी कुल ८ हजार ७५३ मतभार छ, जसमा कांग्रेस र एमालेको मात्रै जोड्दा ५ हजार ९८९ मतभार हुन्छ । नेपाली कम्युनिस्ट पार्टी अन्तर्गत साविक माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलको मतभार एक हजार ३४३ छ ।

यहाँ राप्रपाको २६९ मतभार छ भने नागरिक उन्मुक्ति पार्टीको २१२, जसपाको २७३, लोसपाको २३५, जनमतको १५९, राजमोको १२९, जनता प्रगतिशील पार्टीको ३८ र स्वतन्त्र ५३ मतभार छ । यस आधारमा कांग्रेस–एमाले गठबन्धन उम्मेदवारले सहजै जित्ने आकलन गर्न सकिन्छ ।

उक्त गठबन्धनबाट लुम्बिनी प्रदेशको तीन सिटबाट पूर्वमन्त्री एवं नेकपा एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्री, खुलातर्फ नेपाली कांग्रेस केन्द्रीय सदस्य चन्द्र बहादुर केसी र दाङका कांग्रेस नेता वासुदेव घिमिरे उम्मेदवार छन् । झाँक्रीले एमालेकै विमला घिमिरेको ठाउँ लिनेछिन् भने एमालेका गोपाल भट्टराईको सिटमा कांग्रेसका केसी जाने छन् । यस्तै आपङ्गतातर्फ माओवादीका जगप्रसाद शर्माको सिटमा दाङका कांग्रेस नेता वासुदेव घिमिरे जाने लगभग निश्चित छ ।

यस अर्थमा अहिलेको राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट एमालेले साविकको दुईमध्ये एउटा सिट गुमाउने छ । माओवादीले पनि आफ्नो एक सिट गुमाउने देखिएको छ । यता एमालेसँगको गठबन्धनबाट दुई सिटमा उम्मेदवारी दिएको कांग्रेसले दुवै सिट बोनस पाउने देखिन्छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *