काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज सोमबारदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले सर्वसाधारणका लागि ४ लाख ६६ हजार ८१७ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न लागेको हो।
संस्थामा सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुर्याउनका लागि कम्पनीले एफपीओ निष्कासन गरेको हो । नयाँ सारथी लघुवित्तसँग मर्जरपछि कम्पनीले एफपीओ निष्कासन गरेको हो ।
बैंक तथा वित्तीय संस्थाको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी हुनुपर्ने नीतिगत व्यवस्था छ ।
एफपीओ निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ७९ करोड २२ लाख ५९ रुपैयाँ हुनेछ । सर्वसाधारणले सोमबारदेखि बिहीबारसम्म कम्पनीको एफपीओमा आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरोसेयर मार्फत कम्तीमा १० र बढीमा १ हजार कित्तासम्म आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ।
हाल सेयर बजारमा यस कम्पनी कारोबार भइरहेको छ । कुल ७४ लाख ५० हजार ४०४ कित्ता सेयर बजारमा सूचीकृत छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ७६५ रुपैयाँ छ ।
गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२.६२ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ छ । देशभर कारोबार गर्न इजाजत पाएको यसको मुख्य कार्यालय धुलिखेलमा छ।






