काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रतिनिधित्वको मर्ममाथि पुनः प्रश्न खडा हुने निर्णय गरेको छ। गोल्ड स्टार ब्रान्डको जुत्ता उत्पादन गर्ने किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक तथा कम्पनीकी मालिक अर्बपति विदुषी राणालाई रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूचीमा समेटेपछि अर्थ–राजनीतिक वृत्तमा आलोचना सुरु भएको छ।
सोमबार रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीअनुसार राणा खस–आर्य महिलातर्फको सूचीमा दोस्रो नम्बरमा परेकी छन्।
अर्बपती उद्योगी परिवारकी राणालाई समानुपातिक उम्मेदवार बनाएपछि समावेशी प्रणालीको उद्देश्यविपरीत रास्वपा प्रस्तुत भएको टिप्पणी भइरहेको छ।
संविधानले समानुपातिक प्रतिनिधित्वलाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा पछाडि पारिएका समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने माध्यमका रूपमा व्याख्या गरेको छ। तर स्थापित उद्योगी तथा अर्बपति वर्गका प्रतिनिधिलाई समानुपातिक कोटाबाट संसद् प्रवेश गराउने प्रवृत्तिले यही मर्म कमजोर बनाउँदै लगेको आलोचकहरूको भनाइ छ।
अर्थविद् तथा सुशासनका पक्षधरहरूले समानुपातिक सूची “सामाजिक न्यायको ढोका” हुनुपर्नेमा दलहरूले त्यसलाई “सुविधाजनक प्रवेशद्वार” का रूपमा प्रयोग गर्न थालेको टिप्पणी गरेका छन्।
“प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने आर्थिक हैसियत भएका व्यक्तिलाई समानुपातिक कोटामा राख्नु भनेको कमजोर वर्गको अधिकार खोस्नु हो,” एक विश्लेषकले भने।
रास्वपाले आफूलाई परम्परागत दलभन्दा फरक र सुधारवादी शक्तिका रूपमा प्रस्तुत गर्दै आएको छ। तर, हालै निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा धनाड्य तथा स्थापित उद्योगी समेटिँदा पार्टीको औचित्यमाथि प्रश्न उठेको छ। यसअघि पनि
यस अघि पनि विभिन्न राजनीतिक दलले समानुपातिक प्रणालीलाई शक्ति, पहुँच र प्रभाव भएका व्यक्तिको सुरक्षित अवतरणस्थल बनाउँदै आएका छन्।
विदुषी राणाको उम्मेदवारीले रास्वपाभित्रै पनि असहजता पैदा गरेको चर्चा छ। समानुपातिक प्रतिनिधित्व वास्तवमै कसका लागि भन्ने बहस फेरि सतहमा आएको छ। यो व्यवस्था अवसरविहीनका लागि कि पहुँचवालाका लागि भन्ने बिषयले चर्चा पाएको छ।
रास्वपाले राणा, अर्वपति व्यापारी चन्द्र ढकालका छोरा लगायत दर्जनौँ अर्बपति व्यापारीलाई समानुपातिकको सूचीमा राखेर सांसद बनाउने तयारी गरेको छ। यसबाट रास्वपाले व्यापारीहरुबाट मोटो रकम लिएको आशंका गरिएको छ।






