काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कर्णलाई प्राधिकरणको रिक्त महानिर्देशक पदको कामकाज गर्ने गरी सरकारले निमित्तको जिम्मेवारी दिएको हो ।
भ्रष्टाचारसम्बन्धी आरोपका कारण तत्कालीन महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी गत १७ मंसिरदेखि निलम्बनमा परेपछि प्राधिकरणको प्रमुख पद खाली रहेको थियो। अधिकारीको चार वर्षे कार्यकाल आगामी १७ माघमा सकिँदै थियो । कार्यकाल समाप्त हुनुभन्दा करिब दुई महिना अघि नै उनी निलम्बनमा परेपछि प्राधिकरण नेतृत्वविहीन बनेको थियो।
सोही अवस्थामा प्राधिकरणकै १२ औँ तहका वरिष्ठ उपमहानिर्देशक कर्णलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ। नियुक्तिसँगै उनले शुक्रबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।






