काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशका बैंक तथा वित्तीय संस्थामा रु ११ खर्बभन्दा बढी रकम थुप्रिएर बसेको बताउँदै तत्काल लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले चासो देखाउनुपर्ने बताएका छन्। राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भनेका छन्- “बैंकमा पैसा छ, तर लगानीका परियोजना अघि बढ्न नसक्दा अर्थतन्त्र स्थिर हुन सकेको छैन।”
अध्यक्ष ढकालका अनुसार धेरै आयोजना लगानी अभाव र सरकारी प्रक्रियागत ढिलाइका कारण रोकिएका छन्, जसले लागत बढी हुने मात्र होइन, निजी क्षेत्रको उत्साहसमेत घटाइरहेको छ। “धितोपत्र बोर्डमा लामो समय पदाधिकारी नहुँदा पूँजी बजार प्रभावित रह्यो, पदाधिकारी आइसकेपछि पनि प्रभावकारी रूपमा काम हुन सकेको छैन,” उनले भने, “यस्ता कमजोरी सुधार नगरे लगानीकर्ता विश्वस्त बन्न सक्दैनन्।”
उनले विशेष गरी जलविद्युत् आयोजनालाई आईपीओ निष्कासनमा रोक लगाइएको विषयप्रति असन्तुष्टि जनाउँदै तत्काल समाधान खोज्न अर्थमन्त्रीलाई आग्रह गरे। ढकालले भने, “निजी क्षेत्रले लगानी गरेर अघि बढाउन चाहेका परियोजना अनुमति र स्वीकृतिको झन्झटमा रोकिँदा आर्थिक गति नै सुस्त भएको छ।”
जेनजी आन्दोलनबारे बोल्दै अध्यक्ष ढकालले आन्दोलनको उद्देश्य पवित्र रहे पनि त्यसमा गलत तत्त्व घुसेपछि आगजनी, तोडफोड र लुटपाटजस्ता गतिविधि भएको बताए। “गल्ती गर्ने जो–कोही कारबाहीको दायरामा आउनुपर्छ, अन्यथा निजी क्षेत्र र आम नागरिकको मनोबल कमजोर हुन्छ,” उनले चेतावनी दिए।
उपयुक्त सुरक्षा र नीतिगत स्थिरता बिना निजी क्षेत्रले जोखिम लिन नसक्ने बताउँदै उनले आर्थिक पुनरुत्थानका लागि तत्काल निर्णय र कार्यान्वयनमा गति दिनु आवश्यक छ। “पैसा बैंकमा थुपारेर राख्ने होइन, चलायमान बनाउनुपर्छ,” ढकालले जोड दिए।






