बीमा प्राधिकरण र नबिल बैंकबीच एपीआई इन्टिग्रेशनसम्बन्धी सम्झौता

काठमाडाैं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि मंगलबार (कात्तिक २५ गते) एपीआई इन्टिग्रेशनसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरे ।

कार्यक्रममा कार्यकारी निर्देशक सुवेदीले सो सम्झौताबाट बीमा क्षेत्रको एयरमार्क प्रणालीलाई पूर्ण रूपमा अटोमेसनमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले बीमकहरूका लगानी सम्बन्धी प्रक्रियालाई छिटो, छरितो र त्रुटिरहित बनाई बीमा नियमन तथा निरीक्षण कार्यलाई थप दक्ष र पारदर्शी बनाउन समेत यसबाट सहयोग पुग्ने बताए ।

एपीआई. इन्टिग्रेशन अन्तर्गत बीमकहरूले मुद्दती निक्षेपमा गर्ने लगानीको एयरमार्क व्यवस्थापनलाई प्रविधिमार्फत सहज, सुरक्षित र विश्वसनीय बनाइनेछ ।

यस प्रणालीले प्राधिकरणबाट बैंकमा पठाइने ब्लक तथा अनब्लक रिक्वेस्टहरूलाई स्वतः प्रमाणीकरण गरी सही विवरण भएको रिक्वेस्ट मात्र स्वीकृत गर्नेछ भने त्रुटिपूर्ण विवरण भएमा प्रणालीले त्यसलाई एयरमार्क प्लेटफर्ममार्फत बीमकलाई स्वचालित रूपमा फिर्ता पठाउनेछ ।

यस इन्टिग्रेशनका लागि नबिल बैंकको तर्फबाट विशेष मिडिलवेयर विकास गरिएको छ, जसले बीमकहरूबाट प्राधिकरण हुँदै प्राप्त मुद्दती निक्षेप सम्बन्धी विवरणलाई बैंकको कोर बैंकिङ प्रणालीमा प्रत्यक्ष पहुँच प्रदान गर्दछ ।

यस प्रणालीले सही विवरण मात्र स्वीकार गर्ने र त्रुटिपूर्ण विवरणलाई अस्वीकार गर्ने प्रक्रिया स्वचालित रूपमा कार्यान्वयन गर्नेछ ।

यो सम्झौता नेपाल बीमा प्राधिकरणको डिजिटल ट्रान्सफर्मेशन र प्रविधिमैत्री नियमनको दिशामा अर्को महत्वपूर्ण कदम हो, जसले बीमा क्षेत्रको दक्षता, पारदर्शिता र समय–उपयुक्त सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिना, उपनिर्देशक राजेन्द्र महर्जन तथा उपनिर्देशक रविन्द्र श्रेष्ठ र नबिल बैंकका होलसेल लायबिलिटी प्रमुख लक्ष्मी लामिछाने ढकाल लगायतको उपस्थिति रहेको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *