ट्रम्पले मोदीलाई दिए दीपावलीको शुभकामना, भने-‘भारतले रुसबाट थप तेल किन्ने छैन’

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट थप तेल नकिन्ने बताएका छन्। ट्रम्पले मंगलबार राति प्रधानमन्त्री मोदीलाई फोन गरेर दीपावलीको शुभकामना दिँदै यस्तो बताएका हुन्।

प्रधानमन्त्री मोदीले तिहारको शुभकामना दिएकोमा ट्रम्पलाई धन्यवाद दिएका छन्। मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दीपावलीको शुभकामनाको लागि धन्यवाद। उज्यालोको यो पर्वमा म कामना गर्दछु कि हाम्रा दुई महान् लोकतन्त्रहरू विश्वका लागि आशाको किरण बनिरहुन् र सबै प्रकारका आतंकवादविरुद्ध एकताबद्ध रहून्।’

यसअघि मंगलबार ट्रम्पले ह्वाइट हाउसमा दियो बालेर दीपावली मनाएका थिए। उनले अमेरिका र भारतबीच केही उत्कृष्ट सम्झौताहरूमा काम गरिरहेको बताएका छन्।

ट्रम्पले भनेका छन्, ‘मलाई भारतका जनता मन पर्छ। हामी हाम्रा दुई देशहरू बीच केही उत्कृष्ट सम्झौताहरूमा काम गरिरहेका छौँ। मैले प्रधानमन्त्री मोदीसँग कुरा गरे र हाम्रो सम्बन्ध धेरै राम्रो छ। उनीहरूले रुसबाट थप तेल किन्ने छैनन् भन्ने विश्वास छ।’

मोदीलाई आफ्नो असल साथीको रूपमा वर्णन गर्दै ट्रम्पले भने,‘उनी एक महान् व्यक्ति हुन्। विगत केही वर्षदेखि मेरा धेरै असल साथी बनेका छन्। केही समयमै, हामी अन्धकारमाथि उज्यालोको विजयमा विश्वासको प्रतीकको रूपमा बत्ती बाल्नेछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *