गृहमन्त्री अर्यालले भने-‘केपी ओली कानुन भन्दा माथि बस्ने दिन सकियो’

काठमाडाैं। गृहमन्त्री ओम प्रकाश अर्यालले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कानुनभन्दा माथि नरहेको टिप्पणी गरेका छन्। ओलीले ‘मलाई समातेर देखाऊ’ भनी दिएको चुनौतीको जवाफ दिँदै गृहमन्त्री अर्यालले कानुनभन्दा माथि बस्ने दिन अब समाप्त भएको बताएका हुन्।

सोमबार संचारकर्मीले पूर्वप्रधानमन्त्री ओलीले दिएको चुनौतीबारे उनलाई प्रश्न सोधेका थिए। जवाफमा गृहमन्त्री अर्यालले भने, ‘त्यो भनेको म कानुन मान्दिनँ भनेको हो उहाँले। केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने ? त्यो पहिलाको चाहिँ त्यस्तो थियो, अब त्यस्तो हुँदैन।’

गृहमन्त्री अर्यालले केही दिनअघि द्वन्द्वकालमा लुटिएका हतियार केही राजनीतिक दलहरूले अझै लुकाएर राखेको हुन सक्ने र ती बुझाउनुपर्ने अभिव्यक्ति दिएका थिए। सोही विषयलाई लिएर पूर्वप्रधानमन्त्री ओलीले सरकारलाई आफूलाई पक्राउ गर्न चुनौती दिएको सन्दर्भमा गृहमन्त्रीको यस्तो जवाफ आएको हो।

मन्त्री अर्यालले हतियार राखेका दलहरूले स्वघोषणा गर्नुपर्ने बताउँदै भने, ‘कुनै राजनीतिक शक्तिले हतियार संग्रह गर्ने चाहना राखेको छ भने उहाँहरूले पनि अब मुलुक हिंसाको बाटोमा होइन, शान्ति र अहिंसाको बाटोमा हुनुपर्छ भन्ने कुराको स्वघोषणा गरिदिए हुन्थ्यो।’ यसै क्रममा गृहमन्त्री अर्यालले पूर्वमन्त्री दीपक खड्का विदेश भागेको भन्ने आफ्नो अभिव्यक्तिबारे पनि स्पष्ट पारेका छन्। उनले भने, ‘मैले अन्तर्वार्ता दिँदाको अवस्थामा उहाँ कहाँ हुनुहुन्थ्यो ? त्यो सोध्नुस् न। अन्तर्वार्ता छापिएपछि त उहाँ आउनुभयो।’

आफूले अभिव्यक्ति दिएको समयमा खड्का भारतमा रहेको र पछि मात्रै नेपाल फर्किएको उनको भनाइ थियो। जलेको घर देखाएर आफू यहीँ छु भन्नुले पुरानो समयको अवस्थालाई नढाक्ने उनले संकेत गरे।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *