अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले आज दलसँग छलफल गर्ने

काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल आज छलफल गर्ने भएकी छन्। विघटित प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त दलसँग आज ४ बजे बालुवाटारमा छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।

उनका अनुसार आगामी फागनु ११ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफलका लागि राजनीतिक दलबाट दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन आग्रह गरिएको छ। छलफलमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जसपा नेपाललाई बोलाइएको हो। प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण नबनाएको र दलसँग संवाद नगरेको भन्दै नेताहरुले निर्वाचनको विरोध गर्दै आएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका हतियार राजनीतिक दलले प्रयोग गर्ने वा सहयोग लिने छैनौं भनेर स्वघोषणा गर्नुपर्ने भने पछि सरकार थप विवादमा परेको छ। पत्रकार सम्मेलनमा अर्यालले भने, ‘ती हतियारहरु कुनै संगठित गिरोहको हातमा पुगेको छैन र पुग्दैन भन्ने नै छ । उनीहरू असंगठितरुपमा लुकिछिपी बसेका छन्, त्यसलाई जसरी पनि रिकभर गछौं । ती भागेका कैदीबन्दीहरू र हतियारलाई राजनीतिक दलले प्रयोग गर्ने वा सहयोग लिने छैनौं भनेर स्वघोषणा गर्नुपर्‍यो ।’

जेन-जी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई पकाउ नगर्न परिपत्र गरेर विवादित बनिरहेका बेला शान्ति सुरक्षाको मूल जिम्मेवारी सम्हालेका गृहमन्त्री अर्यालले दिएको विवादास्पद अभिव्यक्तिले थप संशय बढाएको छ। देशका विभिन्न स्थानमा सुरक्षा निकायका अधिकृत र सुरक्षाकर्मीसँग रहेका करिब १ हजार २ सय ७६ थान हातहतियार लुटिएका थिए । त्यसैगरी १ लाखभन्दा राउन्ड गोली, पिस्तोल, राइफल, एलएमजी, र कम्युनिकेसन सेटहरूसमेत लुटिएको थियो । साढे ५ हजार कैदीबन्दी फरार रहेका छन्।

गृहसचिव रामेश्वर दंगालले सुरक्षा निकायको हतियार राष्ट्रको सम्पत्ति भएकाले त्यसलाई लुकाउने वा कब्जा गर्ने जोकोही कानुनी कारबाहीमा पर्ने बताएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *