विपिन जोशीको महाकाली किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुर। इजरायलमा हमास लडाकुको नियन्त्रणमा परेर मारिएका कञ्चनपुरका विपिन जोशीको आज महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । भीमदत्त नगरपालिका–३ भाषी निवासी जोशीको अन्त्येष्टि महाकालीको भुजेलाघाटमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्दै गरिएको हो ।

विपिनको शव सोमबार दिउँसो इजरायलबाट काठमाडौं ल्याइएको थियो । नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी हुँदै राति अबेर घर पुर्‍याइएको शव मंगलबार बिहान शवयात्रासहित नदी किनारमा लगेर अन्त्येष्टि गरिएको हो ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा परेका थिए । उनी बन्धक बनाइएका थिए, र हालै इजरायली सेनाले उनकाे २०२३ मै गोली प्रहारबाट मृत्यु भएको पुष्टि गरेको हो ।

फरेन्सिक रिपोर्ट अनुसार विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको हो । तिहारको समयमा शव घर आइपुग्दा जोशी परिवार शोकमा डुबेको छ । दिदीबहिनी पुष्पाले भाइटीकाको तयारी गर्दै गर्दा विपिनको मृत शरीर आँगनमा आइपुगेपछि तयार पारिएको सयपत्री फूल नै उखेलेको परिवारले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *