काठमाडौं । नेपाली सेनाले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ६१ जना भीआईपी तथा तिनका परिवारको हेलिकप्टरबाट उद्धार गरेको जनाएको छ । त्यस्तै २३ जना प्रहरीको पनि सेनाले हेलीबाटै उद्धार गरेको थियो ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै सेनाले विभिन्न ढंगले फसेका थप १२९ जनालाई जमिनबाट सुरक्षित उद्धार गरिएको जनाएको छ । सेनाले दिएको विवरण अनुसार जेनजी आन्दोलनका क्रममाा ६८८ सरकारी कार्यालय,२५९ जनाका निजी निवास, १२८ व्यापारिक प्रतिष्ठन र राजनीतिक दलका १९८ वटा कार्यालय आगजनी र तोडफोड भएका थिए ।
सेनाका युद्धकार्य निर्देशक अनुपजंग थापाले पत्रकार सम्मेलनमा सेनाको मुख्य प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकता रहेको बताए ।
उनका अनुसार, भदौ २४ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरू, उनीहरूको परिवार तथा मन्त्रीहरूलाई सेनाले उद्धार गरी सुरक्षित स्थलमा पुर्याएको थियो ।
जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण कूल ७६ जनाको मृत्यु भएको सेनाले जनाएको छ ।






