काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दिएको छ ।
एक युट्युब च्यानलमा कुराकानीको क्रमाम सुवेदीले जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्डको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको अभिव्यक्ति दिएका थिए ।
विहीबार सो अभिव्यक्तिको खण्डन गरेको माओवादीले साइबर व्युरोमा उजुरीसमेत दिएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले आइतबार साइबर व्युरोमा उजुरी दर्ता गरी अनुसन्धान गर्न भनिएको जानकारी दिए ।
आचार्यकाअनुसार सुवेदीले सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममार्फत झुटा, भ्रामक र मानहानिकारक टिप्पणी गरेर प्रचण्डको चरित्र हत्या गर्न खोजेको भन्दै उजुरी दिएको हो । “यस किसिमको भ्रामक प्रचारप्रसार साइबर अपराध ऐन अन्तर्गत गैरकानुनी हुन्छ,” आचार्यले भने, “त्यसैले अनुसन्धान गरी कानुनी कारबाही होस् भन्ने माग गरेका छौं।”
यसअघि प्रचण्ड सचिवालयले एक विज्ञप्ति जारी गर्दै सुवेदीलाई आफ्ना दाबीको प्रमाण पेस गर्न सार्वजनिक रूपमा चुनौती दिइसकेको छ ।






