काठमाडौं । जेनजी आन्दोलन सुरु हुनुअघि प्रचण्ड निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ सारिएको भनिएको दाबीप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।
सचिवालयले उक्त आरोपलाई निराधार भन्दै प्रमाण पेस गर्न सञ्चारमाध्यम र व्यक्तिहरूलाई चुनौती दिएको छ ।
‘हामी सम्बन्धित सञ्चारमाध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेनजी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं,’ प्रचण्डका स्वकीयसचिव गोविन्द आचार्यले जारी गरेको प्रेस नोटमा भनिएको छ।
साथै, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको र प्रचण्डकी छोरी गंगाको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको भन्ने दाबी पनि असत्य भएको जनाएको छ ।
सचिवालयका अनुसार यस्ता भ्रामक प्रचार साइबर कानुनविपरीत भएकाले अनुसन्धान र कानुनी कारबाहीको मागसमेत गरिएको छ ।
प्रेस नोट
केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा नेकपा (माओवादी केन्द्र) का संयोजक कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका परिवारका सदस्यहरूलाई लक्षित गरी प्रकाशित/प्रसारित समाचार तथा सामग्रीहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
संकटको आजको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले गरिएका यस्ता तथ्यहीन र चरित्रहत्या गर्ने सामग्रीको प्रवाहप्रति हामी खेद प्रकट गर्दै कडा शब्दमा भत्र्सना गर्दछौं ।
हाम्रो संविधानको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी प्रावधान, यससँग सम्वन्धित कानून र पत्रकार आचारसंहिता अनुसार कुनै पनि सामग्री प्रवाह गर्दा अरुमाथि गालीगलौज, चरित्रहत्या र मानहानी गर्न बन्देज गरिएको छ । त्यसैगरी कुनै पनि संचार माध्यममा समाचार प्रवाह गर्दा सूचनाको सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण सुनिश्चित गर्नु प्रत्येक सञ्चारकर्मीको न्यूनतम दायित्व हो । तर हाम्रो पार्टी र नेतृत्वविरुद्ध प्रवाह भएका पछिल्ला केही सामग्रीहरूमा ती सबै कानूनी र नैतिक मापदण्डहरुको अवमूल्यन गरी एकतर्फी ढंगले पूर्वाग्रही, उत्तेजनापूर्ण, प्रायोजित र असत्य विवरणहरू प्रस्तुत गरिएको स्पष्ट देखिन्छ । जुन गम्भीर तथा आपत्तिजनक छ ।
हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन जी आन्दोलन पूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं ।
साथै, डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूमा अनुरोध गर्दछौं । भविष्यमा यस्ता तथ्यहीन र दुरासयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक पक्ष स्वयंमाथि नै रहने स्पष्ट गर्दै यसखालका भ्रामक कुप्रचारको भ्रममा नपर्न आम जनसमुदायसँग हार्दिक अपिल गर्दर्छौं ।
मितिः २०८२ असोज २६ गते
गोविन्द आचार्य
संयोजक कमरेड प्रचण्डको सचिवालयको तर्फबाट






