काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी नेतृत्व दक्षिणपन्थीको पछि लागेको आरोप लगाएका छन्।
पत्नीको उपचार सिलसिलामा भारतको नयाँदिल्लीमा रहेका खनालले पार्टीको सचिवालय बैठकमा पठाएको लिखित धारणामा त्यस्तो आरोप लगाएका हुन्। समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकताको गृहकार्य चलिरहेका बेला खनालको प्रतिकृया आएको हो।
उनले पार्टी अध्यक्ष माधवकुमार नेपालसहित अन्य वामपन्थी नेताहरू पनि दक्षिणपन्थी सोचमा तानिएको आरोप लगाउँदै भनेका छन्,‘वामपन्थी दलले नै राष्ट्र र जनतालाई सही दिशामा लैजानुपर्ने हो तर अहिलेका नेतृत्वहरू दक्षिणपन्थीहरूका पछि लागेर सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियताको कार्यभार छोडेर यथास्थितिवादमा अड्किएका छन्।’
खनालले विदेशी शक्ति केन्द्रसँग अपमानजनक सम्झौता र सन्धि गर्न थालेपछि देश संकटतर्फ धकेलिएको दाबीसमेत गरेका छन्।
पार्टी एकताको विपक्षमा उभिएका खनालले अहिले कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने धारणा राखेका छन्।






