काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएको बताएका छन् ।
‘भक्त राना खुल्ला र्यापिड चेस’ प्रतियोगिताको समापनमा बोल्दै उनले खेल क्षेत्रले अन्तर्राष्ट्रिय भाइचाराको विस्तारमा पनि योगदान दिएको उल्लेख गरे । पुनले खेलाडीहरू कुनै पार्टी, जात वा क्षेत्रको नभई सधैं राष्ट्रको प्रतिनिधि हुने भन्दै उनीहरूलाई मुलुकको गौरव भने ।
उनका अनुसार क्रिकेट, फुटबल, मार्सल आर्ट र बुद्धिचालले नेपाललाई विश्वमा चिनाउन सहयोग गरेका छन् । उनले खेल क्षेत्रको पूर्वाधार विकास र खेलाडीको व्यवसायिकतामा सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
पुनले विद्यार्थी जीवनमा आफू पनि फुटबल र भलिबल खेलाडी रहेको स्मरण गर्दै भक्त रानालाई गणतान्त्रिक आन्दोलनका योद्धा तथा बुद्धिचालका उत्कृष्ट खेलाडीका रूपमा सम्मान गरे ।






