काठमाडौं । काठमाडौंमा जारी ‘नाडा अटो शो २०२५’ ले पाँच दिनमै ऐतिहासिक सफलता हासिल गरेको छ ।
आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार शनिबारसम्म कुल १,४९,८८१ जनाले अटो शोको अवलोकन गरेका छन् । यस उपलब्धिलाई नाडाले नेपाली उपभोक्ताहरूको नवीन प्रविधिप्रतिको चासो र भविष्य–उन्मुख सोचको प्रमाणका रूपमा लिएको छ ।
शनिबार अटो शोको पाँचौँ दिन देशका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थितिले कार्यक्रमको गरिमा थप उच्च बनाएको छ ।
मुख्य सचिव एकनारायण अर्याल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडाल, सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरी तथा चर्चित कलाकार सन्दीप क्षेत्रीले प्रदर्शनी स्थल भ्रमण गरेका थिए ।
नाडाका अध्यक्ष करण चौधरीले अटो शोको सफलतालाई एक ‘शुभारम्भ’ को रूपमा लिँदै भने, “यसले हाम्रो अपेक्षामा अझ वृद्धि गरेको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप बलियो बनाएको छ।”






