नेपाल पाकिस्तानसँग एक रनले पराजित

काठमाडाैं। अष्ट्रेलियामा जारी टप इण्ड टी२० सीरीजको आफ्नो छैठौं खेलमा नेपालले झिनो अन्तरले पराजय व्यहोरेको छ । नेपालले पाकिस्तानविरुद्धको रोमाञ्चक खेलमा एक रनले पराजय व्यहोर्नु परेको छ ।

टीम नेपालले उत्कृष्ट खेल प्रस्तुत गर्दा–गर्दै पनि पाकिस्तान साहिन्ससँग पराजित भएको हो । आजको खेलमा नेपाली खेलाडी दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे पनि उनको योगदान नेपालको जीतका लागि पर्याप्त भएन । खेलको अन्तिम बलमा उनी रन आउट हुँदा खेल टाइ हुनबाट जोगिएको थियो ।

आजको खेलमा नेपालका कप्तान रोहित पौडेलले पनि उत्कृष्ट ब्याटिङ गर्दै ५२ रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरीले ४१ रन बनाए भने आसिफ शेखले २७ रनको योगदान दिए । त्यसअघि, अस्ट्रेलियामा जारी टप इण्ड टी२० सीरीजको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानविरुद्ध जीत हासिल गर्नका लागि १४५ रनको लक्ष्य प्राप्त गरेको थियो ।

नेपालका ओपनर कुशल भूर्तेल ४ रन बनाएर आउट भए । मोहम्मद सलमानको बलमा उनलाई फैसल अक्रमले क्याच आउट गरेका थिए । डार्बिनस्थित मरारा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

पाकिस्तानका कप्तान इरफान खान ४२ रनमा नटआउट रहे भने अब्दुल समदले २५ बलमा २६ रनको योगदान दिए, जसमा १ चौका र १ छक्का समावेश थियो । मोहम्मद वसिमले २४ रन बनाउँदा सोमपाल कामीको बलमा कट एण्ड बोल्ड भए । ओपनर यासिर खानले १८ रन जोड्दा, मेहरन मुमताजले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर पुर्‍याउन सकेनन् ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए भने नन्दन यादव तथा दिपेन्द्र सिंह ऐरिले समान २ विकेट हात पारे । कुशल भुर्तेलले १ विकेट लिएका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *