पेट्रोल र डिजेल गाडीको तुलनामा ईभी कर्जाको माग बढिरहेको छ: सीईओ गोविन्द गुरुङ

काठमाडौं। कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले पेट्रोल र डिजेल गाडीको तुलनामा ईभी कर्जाको माग बढिरहेकोबताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंकले लगानी गर्ने रकम सर्वसाधारणको निक्षेप भएकाले त्यसको सुरक्षा सुनिश्चित गर्न यस सम्बन्धमा गहिरो अध्ययन तथा विश्लेषण अनिवार्य भएको बताए। सोहिअनुसार नै सवारी साधनमा कर्जा प्रवाह गर्नुअघि त्यसको ब्रान्ड, बजारमा त्यसको स्वीकार्यता र बिक्रीपछिको सेवा जस्ता पक्षलाई मसिनोसँग केलाउने गरेको स्पष्ट पारे।

‘पेट्रोल र डिजेल गाडीको तुलनामा विद्युतीय सवारी (ईभी)को कर्जा माग बढिरहेको छ, हामीले विशेष गरी ईभी गाडीहरू कुन देशबाट आएको हो, आयातकर्ता को हो, बिक्रीपछिको सेवाको योजना के छ, बजारमा त्यसको स्वीकार्यता कस्तो छ भनेर गहिरो अध्ययन गर्छौं,’ उनले भने, ‘गाडी आयातकर्ता तथा बिक्रेताहरूले बैंकलाई यी पक्षमा आश्वस्त पार्न सके मात्र कर्जा प्रवाह सहज हुन्छ ।’ उनले सजिलो फाइनान्सको अपेक्षा राख्नेले यी प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने बताए। ब्रान्ड भनेको नाम मात्र नभएर ग्राहकको विश्वास र धारणासँग जोडिएको विषय उनको भनाइ छ।

‘यदि, कुनै ब्रान्डलाई बजारले स्वीकार्न गाह्रो मानिरहेको छ भन्ने संकेत पाएमा, हामी त्यसमा लगानी गर्न हिचकिचाउँछौँ,’ उनले भने, ‘गाडीको पुनर्विक्री मूल्य, बिक्रीपछिको सेवा र सर्वसाधारणको धारणाले कर्जा निर्णयमा ठूलो प्रभाव पार्छ।’

उनले व्यावसायिक र निजी गाडीको कर्जा विश्लेषणमा केही भिन्नता रहेको भन्दै भनेका छन् -‘ व्यावसायिक गाडीमा ब्रान्ड र त्यसले आम्दानी गर्न सक्ने क्षमतालाई बढी प्राथमिकता दिइन्छ भने निजी गाडीमा व्यक्तिको आम्दानीको स्रोत र कर्जा तिर्न सक्ने क्षमतालाई मुख्य आधार बनाइन्छ।’

‘व्यावसायिक गाडीमा हामी ब्रान्डप्रति बढी सचेत हुन्छौँ किनकि त्यसले प्रत्यक्ष आम्दानी गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर, निजी गाडीमा व्यक्तिको आम्दानी स्रोत बलियो छ भने नयाँ ब्रान्डमा पनि लगानी गर्न सकिन्छ, किनकि त्यहाँ व्यक्तिको तिर्न सक्ने क्षमता मुख्य हुन्छ।’ उनले गाडी बिक्रेताहरूलाई आफ्नो उत्पादन, सेवा र योजनाबारे पारदर्शी भई वित्तीय संस्थाहरूको विश्वास जित्न आग्रह गरेका छन्।

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको १७औँ नाडा अटो शोमा ८ वाणिज्य बैंकले ‘अटो लोन अफर’ सार्वजनिक गरेका छन् । जसमध्ये कृषि विकास बैंकले सबैभन्दा सस्तो अर्थात् ६.२३ प्रतिशतमा ईभी लोन योजना ल्याएको छ । बैंकले नाडा अवधिभर सेवा शुल्कमा ३३ प्रतिशत छुट दिएको जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *