काठमाडौं । घरजग्गा व्यवसायीले अब हदबन्दी छुटको जग्गामा घडेरी वा त्यस्तो घडेरीमा बनेका घर वा अपार्टमेन्ट बिक्री गर्न सक्ने व्यवस्था हुने भएको छ।
यस्तो प्रावधान भूमि सम्बन्धी ऐनमा राख्ने विषयमा प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सहमत भएको छ । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमार्फत यस्तो व्यवस्था गर्न लागिएको हो ।
यो विधेयक आज संसदीय समितिबाट पारित गर्ने तयारी छ । यसअघि गत बिहीबार नै घरजग्गा व्यवसायीले हदबन्दी छुटको जग्गामा घर वा अपार्टमेन्ट बनाएर बेच्न पाउने विषयमा सहमति जुटाएको थियो । यी सहितका विषय समेटेर विधेयकको प्रतिवेदन तयार भएको छ । जहाँ घर जग्गा व्यवसायीले हदबन्दी छुटको जग्गामा घर वा अपार्टमेन्ट बनाएर बेच्न पाउने प्रावधान समेटिएको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रायका सहसचिव मानबहादुर अर्यालका अनुसार २०७६ सालमा भूमिसम्बन्धी ऐन संशोधन भएपछि घर जग्गा व्यवसायको निम्ति हदबन्दी भन्दा बढीको जग्गा लिने बाटो खुला भएको थियो । हाल एक सयभन्दा बढी कम्पनीले घर जग्गा व्यवसाय दर्ता गरेर सञ्चालन गरिरहेका छन् ।
तर, घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले हदभित्रको जग्गामा घडेरी वा त्यस्तो घडेरीमा घर वा आवास इकाइ (अपार्टमेन्ट) निर्माण गरेर बेच्न पाएका छैनन् । प्रस्तावित विधेयकले हदभित्रको जग्गामा घडेरी वा घडेरीमा घर वा अपार्टमेन्ट बनाएर बेच्न दिने भनेको छ । जसअनुसार ऐन बनाउन संसदीय समिति सहमत भएको छ ।






