निक्षेप तथा कर्जा सुरक्षण कोषद्वारा ‘लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२’ सार्वजनिक

काठमाडाैं। ऋणीको मृत्यु, अपाङ्गता वा परियोजना नष्ट हुँदा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित लघु कर्जामा हुन सक्ने सम्भावित नोक्सानी विरुद्ध सुरक्षा प्रदान गर्ने उद्देश्यले निक्षेप तथा कर्जा सुरक्षण कोषले ‘लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२’ सार्वजनिक गरेको छ।

भक्तपुरमा आज आयोजित एक कार्यक्रमका बीच कोषले उक्त योजना सार्वजनिक गरेको हो। कार्यक्रममा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, लघु कर्जा विभाग प्रमुख तथा अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कोषद्वारा प्रस्तुत गरिएको नयाँ सुरक्षण योजनाले कोषको हाल चालु सुरक्षण कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँसम्मको कर्जा सुरक्षण गर्नेछ। ऋणी तथा उनका पति वा पत्नीको मृत्यु, स्थायी अपाङ्गता वा परियोजना पूर्ण रूपमा नष्ट हुँदा बाँकी कर्जाको शतप्रतिशत दाबी भुक्तानी गरिने व्यवस्था गरिएको छ।

उक्त योजनाको सदस्यता प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाहरूले नियमित सुरक्षण शुल्कमा ०.१५ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्नेछ। यस योजनाले लघु, साना तथा मझौला उद्यमका लागि प्रवाहित कर्जामा चल–अचल सम्पत्तिको धितो वा अन्य सुरक्षा व्यवस्था गर्नुपर्ने झन्झट हटाउनेछ। यसले संस्थागत कर्जा पूर्ण रूपमा सुरक्षित हुने वातावरण तयार पार्ने विश्वास कोषले व्यक्त गरेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *