काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले झापाको गिरीबन्धु टी-स्टेटको अन्य प्रयोजनमा प्रयोग भएको पाइए त्यो स्वत: सरकारको हुने बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री अधिकारीले उद्देश्यअनुसार काम नभए जग्गा स्वत: सरकारको हुने बताए ।
‘गिरीबन्धु टी-स्टेट चिया बगानका गराउन दिएको जग्गा हो । चिया बगान गराउन लिएको जग्गा अर्कोमा परिणत गर्ने कहाँ भनिएको छ ? त्यो अर्कोमा परिणत गर्न पाइँदैन, त्यही उद्देश्यमा काम गर्नुपर्छ । यदि त्यो उद्देश्यमा काम गर्दैन भने स्वत: सरकारको हुन्छ । हदभित्रको उसको हुन सक्छ,’ उनले बैठकमा भने ।
मंगलबार भूमि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि संशोधनकर्ता सांसदसँगको छलफलका क्रममा मन्त्री अधिकारीले प्रयोजनबाहेकको काममा गिरीबन्धु टी–इस्टेटको जग्गा प्रयोग गरे हदभित्रको बाहेकको जग्गा सरकारको हुने बताएका हुन् ।





