सिन्धुलीबाट हराए‍का १६ जना हायू परिवारको अन्तिम लोकेसन रामेछाप देखियो

सिन्धुलीको गोलान्जोर गाउँपालिका-६ बागेश्वरबाट बेपत्ता भएका एकै परिवारका १६ जना रामेछाप पुगेको भेटिएको छ। बिहीबारदेखि सम्पर्कविहीन भएका उनीहरूको लोकेसन शुक्रबार राति १० बजेर ९ मिनेट जाँदा रामेछापमा देखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए।

बेपत्ता हुनेमा उर्मिला हायु, उनका ६ जना छोरा, ५ छोरी, २ ज्वाइँ र नातिनातिनाहरू छन्। ‘शुक्रबार राति १० बजेर ९ मिनेटसम्मको लोकेसन रामेछाप देखियो। त्यसपछि उक्त लोकसन ट्रयाक भएको मोबाइल चलेको छैन,’ उनले भने, ‘उक्त सीम चलेको पनि देखिएन।’ बेपत्ता भएका परिवारको घरमा बस्तुभाउ सबै छन्। गाउँलेले उनीहरूलाई बिहीबारदेखि नै नदेखेको बताएका छन्।

हायु थरका उनीहरूलाई स्थानीय सरकारले लोपउन्मुख जातिका रुपमा मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले भत्तासमेत दिँदै आएको थियो। उनीहरूले तीन महिनाको १६ जनाको एक लाख ९२ हजार रुपैयाँ लिएका थिए।

यस्तै घरमै सुँगुर काटेर खाएको पनि देखिएको छ। हायुको घर एकान्तमा छ। त्यहाँबाट अर्को कुनै घर पुग्न कम्तिमा १५ मिनेट लाग्ने वडा अध्यक्ष रविन श्रेष्ठले जानकारी दिए। उनीहरूले एउटा भैँसी गाउँकै अर्को घर नजिकै बाँधेका थिए। हरेक दिन घाँस पानी गर्न जान्थे। तर, बिहीबारदेखि उनीहरू भैँसीलाई घाँस हाल्न नगएपछि गाउँले सोमबार बिहान घरै पुगेर हेर्दा ढोका खुलै थियो। तर, मान्छे कोही पनि थिएनन्। त्यसपछि खोजी सुरु भएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *